मोहिनी

नवीन प्यासी सेतो ग्लासको कालो कफीलाई अन्तिम चुन्बन दिँदै छुटिनेबेला भनेको थिएँ, 'मलाई तिम्रो कपाल रुझाएर खसेको पानी सबैभन्दा पवित्र लाग्छ ।' उसले खितखिताएकी थिइन्, 'त्यसोभए त्यो समय पर्खिएर बस्नू ! 'यदि त्यो समय आएन भने ?' 'सम्झिएर बस्नू !' यति ठूलो बिझाउने वाक्य कति सजिलै भनेकी थिइन् । लगत्तै भनेको थिएँ, 'मलाई छुटिनै मन छैन ।' 'त्यसो भए नभेटेको भए भइहाल्थ्यो नि ! हरेक भेट नछुटिएसम्म पूर्ण हुन सक्दैन,' पत्थरमा काँचको गिलास ठोक्किएजस्तो आवाज थियो उसको । मानिस यति विघ्न निर्मम पनि हुँदा रहेछन्, यस्तै महसुस गरेथेँ । यसपछि हाम्रो पैताला क्याफे छिचोलेर गेटसम्म सँगै आइपुग्यो र छुट्यो । छुटिनेबेला भनेकी थिइन्, 'तिमीसँगको हर भेट यादगार बन्छ ।' 'कसरी र ?,' 'हर भेटमा तिमी मसँग पराजित हुन्छौ । थाहा छ तिमीलाई ? मान्छेले जित मात्र सम्झने गर्छन् ।' हो त नि ! हार त किन सम्झिनु र । हारेको मान्छेलाई किन सम्झिनु र । जित्ने भए ईतिहास लेखिजान्छ नि । खासमा ईतिहास पक्षपाती हुन्छ । अपूर्ण हुन्छ । आधा हुन्छ । जित्...