मोहिनी

नवीन प्यासी


सेतो ग्लासको कालो कफीलाई अन्तिम चुन्बन दिँदै छुटिनेबेला भनेको थिएँ, 'मलाई तिम्रो कपाल रुझाएर खसेको पानी सबैभन्दा पवित्र लाग्छ ।'

उसले खितखिताएकी थिइन्, 'त्यसोभए त्यो समय पर्खिएर बस्नू !

'यदि त्यो समय आएन भने ?'

'सम्झिएर बस्नू !'

यति ठूलो बिझाउने वाक्य  कति सजिलै भनेकी थिइन् ।  लगत्तै भनेको थिएँ, 'मलाई छुटिनै मन छैन ।'

'त्यसो भए नभेटेको भए भइहाल्थ्यो नि ! हरेक भेट नछुटिएसम्म पूर्ण हुन सक्दैन,' पत्थरमा काँचको गिलास ठोक्किएजस्तो आवाज
थियो उसको । मानिस यति विघ्न निर्मम पनि हुँदा रहेछन्, यस्तै महसुस गरेथेँ ।

यसपछि हाम्रो पैताला क्याफे छिचोलेर गेटसम्म सँगै आइपुग्यो र छुट्यो ।

 छुटिनेबेला भनेकी थिइन्, 'तिमीसँगको हर भेट यादगार बन्छ ।'

'कसरी र ?,'

'हर भेटमा तिमी मसँग पराजित हुन्छौ । थाहा छ तिमीलाई ? मान्छेले जित मात्र सम्झने गर्छन् ।'

हो त नि ! हार त किन सम्झिनु र । हारेको मान्छेलाई किन सम्झिनु र । जित्ने भए ईतिहास लेखिजान्छ नि । खासमा ईतिहास पक्षपाती हुन्छ । अपूर्ण हुन्छ । आधा हुन्छ । जित्नेको कथा मात्र लेख्छ इतिहास ।

कसैले नहारे/नहारिदिए जित्ने वेचैनीमा मर्छ । एक्लै जित्नु नि ! किन कोहीलाई पराजित गरेर जित्नु । खासमा खेल खेल्नु नै किन ? खेल नखेली पनि त जिन्दगी चल्छ । मानिस रिङमा कसैलाई भिडाएर लडाइँको आनन्द लिन्छ । रोमान्चक लाग्छ उनीहरूलाई । कोही हार्छ, हार्नेले पिटाइ खान्छ । त्यहाँ 'वाउ' भनिन्छ । मान्छे कत्ति पर पीडक हो ?

अँ, कुरो धेरै पर पुगिसक्यो ।

कुरो जति पर गयो, हरेक चिज उति धूमिल हुँदै जान्छन् । त्यहाँ तथ्य देखिन्न । अनुमानले मात्र काम गर्छ । अनुमानहरू जहिल्यै आधा सत्य र आधा असत्य अंगालेर बस्छन् । सत्य-असत्य दुवै भएपछि मिसावट हुन्छ । त्यहाँबाट निस्किएका कचरमचर धारणाले हामी जिन्दगी चलाउँछौँ । खासमा हामी कुनै पनि कुरालाई नजिक गएर महसुस गर्दैनौँ । आँखाले देखेको कुरा नै प्रमुखत: सत्य भइदिन्छ । आवरण सत्य भइदिन्छ । र हामी सुन्दरता र कुरूपताको निर्क्यौल गरेर जिन्दगी यत्तिकै खेर फालिदिन्छौँ । हाम्रा लागि आवरण बाहेक अर्को सत्य छ जस्तो नै लाग्दैन कहिलेकाहीँ । यदि यसै हो भने हामी पुग्छौँ चाहिँ कहाँ ?

अँ, ऊ छाता बोकेर बेपत्ता भइसकेकी छिन् । म मनमा अनेक तर्क चलाउँदै गाडी कुरिरहेछु ।  पुतलीसडकबाट अलि पर्तिर कृष्ण पाउरोटी अगाडि ।  गाडीका बत्तीमा झरीका बुंद  नांगो रोडमा जिस्किरहेछन् । कस्तो मनमोहक । ती रोडमा बजारिएका बुंदहरुलाई पीडा पनि कति मीठो लागेको ! खासमा पीडा, चोटहरूले मान्छेमा सौन्दर्य थप्दोरहेछ ।

सार्वजनिक गाडी आएन । ट्याक्सी रोकेर चढें । रू १५ मा पुगिने ठाउंमा दुई सय पचास लाग्यो ।

 कहिलेकाही एउटै बाटो र एउटै दूरी पनि महंगो सावित हुनेगर्छ । जब हामीले समयलाई वास्ता गर्दैनौं ।

रुप पुगेँ । थकित छु । निद्रा झ्याप्प लागेको छ । अघि क्याफेमै टन्न खाएर आएको छु । खान मन छैन । पकाउन जाँगर पनि छैन । जुत्ता मात्र खोलेर डंग्रंग पल्टिएँ ।

०००

साइलेन्स-स्याड मेलोडियस इन्स्ट्रुमेन्टल म्युजिक बजिरहेको छ । एक मानिस एक्लै बसेर धुपीसल्लाको पातहरूबाट हिउँ झरिरहेको हेरिरहेछ । तल.. खोलामा सेतो बाटोजस्तै देखिने हिउँ-खोला बगिरहेको छ । पर नांगो डाँडाबाट भेडाहरू पल्लोपाखोतिर गइरहेका छन् ।

म छेउमा चिसा दाउराहरू धुवाँ निकालिरहेका छन् । त्यो मानिस चुरोटको धुवाँ निकालिरहेको छ। साथमा खुकुरी रम छ । कुनै कुटीजस्तो देखिने सानो घर छ । घरको छानोमा ढुंगाहरू छपक्क बसेका छन् । छेवैमा सानो तबेला छ । तबेलामा घोडा एउटा खुट्टा उचालेर ठिंग छ ।

घरको बाहिरी भित्तोमा एउटा बन्दुक झुन्डिएको छ ।

रातो ओभरकोट लगाएको, कपालमा ठूलो ह्याट लगाएको मानिस बुट बाँधिरहेको छ । कपाल लामो र लट्टा छ ।  ह्याट नाघेर कुमसम्म झरेको छ कपाल ।

चिसा दाउराबाट ऊ मासुको चोक्टो निकाल्छ । झ्याम-झ्वाम खान्छ । मासु भेडाको हो या भेडा खाने जंगली भालुको हो, खुट्याउन गाह्रो छ । अलि तल्तिर कालो छालाको थुप्रोले छुट्याउन गाह्रो भइरहेको छ, मासु चाहिँ हो के को !

ऊ छेवैमा सिलौटोमा घोटिएको नुन र खोर्सानीमा मासु चोप्छ, क्वाप्प खान्छ । फेरि आगोबाट मासु निकाल्छ, खरानी टक्टकाउँछ र सिलौटोमा मासु घिसार्छ अनि क्वाप्प !  खुकुरी रम स्वाट्ट पार्छ ।

म छेउमा उभिएको छु । मासु देखेर मुखभरि थुक आएको छ । मागेर खान मेरो इगोले दिँदैन । 'खाउँ' भन्ला भन्छ कि भनेर हेरिरहन्छु । तर उसलाई मेरो मतलब छैन ।

अति नै खान मन लागेपछि आगो नजिक गएर एक चोक्टो मासु हातैले निकाल्छु । तातो न तातो छ, हातै पाक्लाजस्तो । तर भोकको वेला मासु छाड्न सकिनँ । उसले  कुनै प्रतिक्रिया जनाएन ।

तातो मासु नुन-खोर्सानीमा नचोबी खान मात्र के लागेको थिएँ, अचानक घोडा हिनहिनायो । मासु समातेर मुखसम्मै पुगेको हात तल झर्यो ।

अगाडि एउटा सेतो घोडा उभिएको छ । घोडालाई हेर्दै उकालो निस्कन्छु । एउटी युवती देखा परिन् । कपाल खुल्ला छाडेकी उसको कपालमा हिउँहरू फुलेका छन् । उसको चिम्सा आँखा मसँग जुध्यो । मैले हेर्न सकिनँ । आँखा झुकाएँ  । उसको छातीमा पुगेर आँखा रोकियो ।बउसको कपाल हेर्दा त हिउँ मात्र फुलेको थियो, उसमा भने बैँस फुलेको रहेछ ।

ऊ घोडाबाट झरिन् ।

सरासर आइन् । आगोको अगाडि बसिन् । हातका छालाका पन्जा फुकालिन् । हात सेकाइन् । छेउमा अघिदेखि बसेको पुरुष त उसको आफन्त रहेछ । उनीहरूको कुराकानीबाट थाहा भयो ।

मेरो हात भुइँमा थेचारिएर बसेको छ ।मासु सेलाइसक्यो । मुठी कसेको छु, उसले नदेखोस् भनेर । उसले मलाई हेर्दै खुकुरी रम माटोको गिलासमा हालिन् । रम लिइसकेपछि मलाई हेर्दै भनिन्, 'को हौ तिमी ?'

मैले भनेँ, 'म प्रेमी हुँ ।'

'कसको प्रेमी ?'

'नाम याद छैन ।'

'नाम याद नभएको मानिस कसरी प्रेमी हुन सक्छ ?'

उसको प्रश्नले मलाई बिथोल्यो । रनथनिएँ । एकछिन मौन रहेँ । उसले नै भनी,- 'भैगो नाम छाडिदेउ, रम पिउ । मैले थाहा पाइसकेँ, तिमी प्रेमी होइनौ  । आकर्षण मात्र भएपछि मानिस प्रेमतिरभन्दा ज्यादा उपभोगतिर जान्छ ।'

उसले यसो भन्दै रम अर्को गिलासमा भरेर मलाई दिइन् । उसको कुराले रनथनिएको म रमले झनै रनथनिएँ ।

रात छिप्पिँदै गयो । रम रित्तिँदै गयो ।

उसको आफन्त पर्ने युवक रक्सी बढी भएर त्यहीँ ढल्यो । उनले छालाले बनेको सिरक ओढाइदिइन् । मध्यरात तरेर हामी बिहानतिर पुगिसकेका रहेछौं ।

ऊ उठिन् । घोडामाथि चढिन् । मलाई पनि चढ्न इशारा गरिन् । म हल्लँदै चढेँ । उसको कम्मरमा समातेँ । उसले लगाम तानेर घोडा दौडाइ । हामी भेडा अोरालो लागेको डाँडातिर जाँदै छौं ।

निकै पर पुगेपछि घोडा रोकियो । ऊ पनि रोकिइन् । झर्नु भनिन् । झरेँ । ऊ पनि झरिन् ।

'तिमी कसलाई खोजेर सधैं सधैं यसरी बिथोलिन्छौ ? थाहा छ तिमीलाई आफू कहाँ छु भनेर ?' उभिएर सोधिन् ।

'म मुक्ति खोजिरहेछु ।'

'मुक्ति भनेको के हो थाहा छ ?'

'सारा दु:ख कष्टबाट पार पाउन चाहन्छु ।' उसको प्रश्न ख्याल नगरी भनेँ ।

'असम्भव ! तिम्रो जन्म दु:ख महसुस गर्नका लागि भएको हो ।'

हामी कुरा गर्दै हिँड्दै गयौँ । अलि पर ठूलो छाँगो रहेछ । माथिबाट बगेर आएको पानी यही छाँगोबाट खस्दो रहेछ । लगभग साढे छ सय मिटर अग्लो होला यो झरना ।

हामी झरनाको टुप्पोमा छौँ ।

ऊ झरना नजिक गइन् । पानीमा टाउको भिजाइन् । जिउ भिजाइन् । भिजेको कपाल, जिउ र टिमिक्क टाँसिएको कपडा कुनै काल्पनिक कथाभन्दा फरक छैन ।

म छेवैमा आइन् । कपाल मुसारिन् र भनिन्, 'तिमी भिज्दैनौं ?

'नाइँ, यस्तो जाडोमा भिज्ने तागत छैन मसँग ।'

'यहाँ पो जाडो छ त । गएर भिज न, त्यहाँ त पानी नै तातो छ ।'

उनले भने बमोजिम डरसरी गएँ । साँच्चिकै पानी त तातो रहेछ । बढी जाडो हुँदा यहीँ आएर भिज्दी रहिछिन् । मलाई पानीबाट बाहिर निस्कन मन लागेन । भिजिरहेँ । ऊ पनि आई ।हामी दुवै भिजिरह्यौँ । जिस्किरह्यौँ ।

निकैबेरपछि दुवै बाहिर निस्कियौँ ।

मैले भनेँ, 'तपाइँलाई मैले प्रेम गरेँ भने के हुन्छ होला ?'

'त्यस्तो कुरा सोच्दा पनि नसोच्नू ।' ऊ बोली ।

'किन र ?' डरसरी भनेँ ।

'म सिनो हुँ । सिनोलाई चलाउँदा तिमीमा पनि दुर्गन्ध फैलिनसक्छ ।'

म उनको कुराले मौन रहेँ । केही बोल्न सकिनँ । के बोलौँ । के भनेकी हुन् । यस्तो अप्ठ्यारो भाषाको अर्थ के हो ! चलित परेँ ।

मनमनै के के सोचिरहेथेँ । ऊ बोली, 'के सोचिरहेको ?'

'केही होइन ।'

'धेरै नसोच, दिमाग तात्छ । आऊ, जाडो भयो, भिज्न जाऔँ ।' मेरो हात तान्दै भनी ।

मेरो मुड अफ भइसकेको छ । मलाई रूझ्न मन छैन । मन नै ओसिलो बनेपछि रुझ्नुले के मजा दिन्थ्यो र । तर, मलाई जबर्जस्ती तानी । म अड्डी कसेर बसिरहेँ । मलाई अलि घिसारेर झरना छेउमा पुर्याई । तर, म जानै मानिनँ । मलाई जोडले झट्कारेर तानिन् । म भित्ताको रुखमा हात समातेर बलियो गरि बसेँ । फेरि झट्कारेर तानिन् । म जरा नै समातेँ । हाम्रो हात फुस्कियो ! ऊ झरनाउँधो पल्टिई । मुस्लो बनेको पानीमा हराई ।

म चिच्याएँ !

चिच्याउँदा बढी दबाब परेछ, झक्लक्क बिउँझिएँ ।

०००

बिपनामा पनि उसैलाई र सपनामा पनि उसलाई देखेँ । मेरो जीवनको मीठो र अचम्मित घटना हो यो । अहिलेसम्म यस्तो घटना घटेको थिएन ।

कोठाबाट उठेँ । उसलाई कल गरेँ । तर, फोन अफ छ ।

बाथरुम गएँ  । फ्रेस बनेर आएँ । चिया बनएँ । चिया पिउँदै अनलाइन बसेँ । मलाई उसको वाल चेक गर्न मन लाग्यो । उसको नाम सर्च गरेँ, 'मोहिनी ।'

नेट स्लो छ । बिस्तारै खुल्यो । खुल्नसाथ चकित परेँ  । उसको वालभरि 'रिप' लेखेर उसका तस्बिर पोस्ट भएका छन् ।

अलि तल एउटा पोस्ट पढेपछि थाहा भयो, हिजो बाटो काट्दै गर्दा कारले ठक्कर दिएछ ।

म झसंग भएँ । झकलक्क बिउँझिएँ ।

००० 

कहिलेकाहीँ म सपनाभित्र सपना देख्छु । सपना देखिरहेको हुन्छु । तर, त्यही सपना बिपना लागिरहेको हुन्छ । र सपना देखिरहेको हुन्छु । यस्ता सपनाभित्रको सपनाले बेस्सरी बिथोल्छन् मलाई । तपाइँले पनि सपनाभित्र सपना कहिले देख्नुभएको छ ?


Comments

  1. आहा बहुत खुब लेख्नुहुन्छ महोदय

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सफर

तिमीसँग भेट नभएको भए