सफर


० नवीन प्यासी


०००

जसै जहाज मभित्र गएर ल्याण्ड भयो, ओहो ! कति सुन्दर र भयानक संसार । जहाजको झ्यालबाट हेर्दैमा मोहित भएँ । जहाजको स्टार्ट अफ गरेँ । जहाजबाट बाहिर निस्किएँ । एयरपोर्ट शान्त छ । न सेक्युरिटी गार्ड, न चेकिङ, न केही वा कोही । पूरै लक डाउन छ संसार ।

एयरपोर्टबाट बाहिर निस्किएँ ।

छेवैमा ठूलो वस्ती रहेछ । वस्तीको गेटमा पुगेँ । भित्र प्रवेश गर्न लाग्दा एउटा मानिस मेरो अघि उभियो । कोहो यो मान्छे ? मनमनै प्रश्न गरेँ । तर, उसलाई केही भनिनँ । हेरिरहेँ । ऊ आफैं बोल्यो, 'स्वागत छ मेरो वस्तीमा । म यहाँको मेयर हुँ । मेरो नाम दु:ख हो ।'

दु:खले परिचय दिएपछि उसँगै वस्तीभित्र छिरेँ ।अलि पर पुगेपछि तीनजना मानिसले नमस्कार गरे । दु:खले भन्यो, 'ऊ भोक, ऊ अभाव, ऊ चाहिँ शोक । यिनीहरूले सदा सर्वदा तिम्रै साथमा रहने कसम खाएका छन् । आज चाहिँ तिमी यता आउँदैछौ भन्ने थाहा पाएर तिम्रो स्वागतका लागि अगाडि नै आइपुगेका हुन् ।'

'अनि मैले त यिनीहरूलाई कहिल्यै मेरो साथमा देखिनँ त ।' मैले भनिपठाएँ ।

'अँ, तिमीले देख्नेगरी यिनीहरू कहिल्यै प्रकट हुँदैनन् । यिनीहरू स्वरूप बदलिरहन्छन् । तर, सधै तिमीसँगै नै हुन्छन् ।'

बिहानै भएकाले वस्तीमा धुवाँ उड्न थाल्यो । चिया, नास्ता गर्ने समय हो यो ।  थालहरू, भाँडाकुँडाहरू बज्न थाले । वस्तीमा रित्ता भाँडाकुँडाको आवाजले बुझिन्छ, वस्तीमा अनिकाल लागेको छ । पुराना भत्किएका कलात्मक झ्यालहरूबाट भित्र स्पष्ट देखिन्छ । भित्र शन्नाटा छ । सुस्त सिर सिर चलिरहेको हावामा हामीसँगै हिँडिरहेको शोकमो लुङ्दरजस्तो टोपीको फेर फरफर नाचिरहेको छ ।  वस्ती कुनै भयानक युद्ध सकिने र निरन्तर हुने आँकलन गरिरहेजस्तो देखिन्छ । डरसरी आएको गुनगुन र भुनभुनले यही संकेत गर्छ ।

अलि पर चिया पसल देखा पर्यो । दु:खले प्रस्ताव गर्यो, 'जाऔं, एक एक कप चिया पिऔं ।'

हामी सबै त्यता लाग्यौं । चिया पसल अघि पुग्यौं ।

'मेयर साप, नमस्कार ।' चिया पसलेले नमस्कार गर्यो ।

दु:ख हात मात्र उठाएर नमस्कारको जवाफ दिँदै र चिया पसलेसँग परिचय गराउँदै भन्यो, 'यो चाहिँ अपुरो सपना हो । वर्षौंदेखि तिमीसँगै थियो । तिमीले यसलाई पूरा गर्नका लागि कयौं कोसिस गर्यौ, तर सकेनौं । र यतिकै छाडिदियौ । तिमीले बीबीए पढ्दाताकासम्म यो सँगै थियो । पछि बीबीए छाडेपछि यो अलपत्र पर्यो । तिमी त्यो वेला धेरै रोयौ पनि । उसको आफ्नै विचल्ली र तिम्रो आँखामा आँसु देख्न नसकेर सदाको लागि तिमीबाट अलग्गिएर यहाँ आइपुगेको हो ।'

म छक्क परेँ । के भनौं भनौं भयो । के बोलौं बोलौं भयो । अपुरो सपना चिया बनाइरहेको थियो । मैले ट्वाइलेट सोधें । उत्तर-पुर्वतिर देखायो । म ट्वाइलेट गएँ ।सुसु गरेँ । यस्तो अशान्त, अमूर्त, उदास वस्तीबारे मैले कहिल्यै कल्पनै गरेको थिइनँ । म ट्वाइेटबाट निस्किएर लुसुक्क उत्तर-पूर्वतिरै लागेँ ।

अलि पर पुगेँ । निकै परै पुगेँ ।

ओहो ! यहाँ त ठाउँ अनुसार सिजन फरक रहेछ । त्यहीँ पर त्यस्तो भयावह र उदास अनि पतझड ठाउँबाट आएको, यहाँ त वसन्त मस्त रहेछ ।

सेता गुराँसहरू फुलिरहेका डाँडाहरू । कसैले छपक्क रङ पोतेजस्तो । मानौँ न, होलीको छेकोमा कुनै अजनवीबाट रङको लोला खाएको उन्मत्त युवतीजस्तो । खोलाहरूमा हिउँ पग्लिएर खसेका सेताम्य पानीका धर्साहरू । कसैको प्रतीक्षामा बसिरहेको मानिस झैं देखिने यो ठाउँमा म मध्यन्हमा पुगेको छु ।

एक थुंगो गुराँस टिपेँ । कस्तो मादक सुवास हो गुराँसको ! लठ्ठ भइगएँ । थुंगोलाई आँखा चिम्म गरेर निक्कैबेर सुँघिरहेँ । मलाई मस्त नशा चढ्यो । गुराँसका एक एक पत्ता लुछ्दै खाएँ ।  आधा खाएसकेको थिएँ । कोही बोल्यो, 'यसरी खाने होइन नि ! झ्वाम झ्वाम खाने हो ।'

लौ, न चिनेको छ, न जानेको छ । मलाई पो सिकाउँछ त । रिस उठ्यो ।

'रिस उठ्यो होला होइन मेरो कुराले ?' मलाई सोधी । कसरी थाहा पायो ? यस्सो नियालेर हेरेँ, मस्त वैशमा छे । अनुहारमा वैशका छालहरू छन् । वदन पनि उस्तै छ । कतै चिने चिने जस्तो लाग्यो । तर, बिर्सिसकेको रहेँछु ।

मेरो हातको आधा गुराँस खोसेर झ्वाम झ्वाम खायो । अनि बोल्न थाल्यो-

'मेरो नाम शीत हो  । पहिला मेरो नाम युग्योन फुटी थियो ।'  ऊ बोली ।

ओहो, युग्योन फुटी त मेरो पहिलो प्रेमिका पो हो त !

युग्योन बोली, 'अब याद भयो होला तिमीलाई, म तिम्रो पहिली प्रेमिका हुँ ।  तर, समयले हामीलाई रुचाएन । तिमी बतासे बनेर बाँचिरह्यौ । बिस्तारै  मलाई आफ्नोपनको प्रत्याभूति दिलाउन छाड्यौ । त्यसपछि म पनि बिस्तारै तिमीबाट दुरी बनाउन थालेँ । अहिले त हामीबीच यति लामो दुरी बनिसक्यो कि अब चाहेर पनि फर्कन सक्दैनौं । मेरो विवाह आउँदो महिना हुँदैछ ।'

म वाल्ल परेँ । ऊ बोली, 'आ, छाडिदेऊ ती सब कुरा । आऊ, गुराँस खाऔं ।'

ऊ गुराँसको रूख चढी । गुराँसका टन्नै थुंगाहरू झारी । केही गुराँस खायौं । जिस्कियौं । इत्रियौं । गुराँसको ओछ्यान बनाएर एकछिन सुस्तायौं । म आँखा चिम्म गरेर पल्टिएँ । आनन्द महसुस भइरहेको छ । युग्योनले बिस्तारै मेरो ओंठमा किस गरी । मैले आँखा खोलेँ ।ऊ लजाएर फरक्क फर्किइन् ।

ओहो, कस्तो आनन्द  यो । कस्तो मधुमास यो ।

लगभग सवा तीन बजेको हुनुपर्छ दिउँसोको । युग्योन बोली, 'ल है, तिमी नि जाउ, म नि भेडाहरू लिएर घर जान्छु आबो । तिमीसँगको यो भेट सधैं सधैं यादगार रहनेछ ।'

युग्योन गई । मेरो कुनै प्रतिक्रियाको जरुरत ठानिन ।

म पश्चिमतिर लागेँ । झोलामा केही थान गुराँसका थुंगो बोकेको छु । मलाई बस्न त त्यतै मन थियो । भोलि फेरि युग्योन आउँछिन् नै । तर, रोकिँदा समय घर्किसक्थ्यो । समयलाई मैले पछ्याउनैपर्छ ।

लगभग पौने तीन घण्टाको हिँडाइ पश्चात् म एउटा वस्तीमा पुगेँ । झरि परिरहेको छ । सायद, वर्षा याम हो यो ।

वस्तीको गेटमै मेरो गलामा माला लगाइयो । 'स्वागत छ वस्तीमा । मेरो नाम वियोग ।' मलाई माला लगाउँदै बोल्यो ऊ । अनि छेवैमा भएकाहरूको नाम क्रमैसँग भन्यो, 'ऊ चोट, ऊ दर्द, ऊ पीडा, ऊ चाहिँ बिछोड ।'

 दिउँसो अत्याधिक गुराँस खाएकाले पेट दुखिरहेको छ । मलाई यहाँ कुनै क्रिया/प्रतिक्रिया जनाउन मन लागेन । चुपो लागेर बाटो लागेँ । उनीहरू हेरेको हेर्यै भए ।

गुराँसले पेट अरर्रो बनिरहेको छ । दुखिरहेको छ । र पनि हिँडिरहेको थिएँ, अचानक बाटोमै ढलेँ । मुटु फुट्ला झैं भयो । कस्तो दुखेको । के गर्ने होला यस्तो वेला ? कुनै उपाय पत्तो पाइनँ । आँखा चिम्म गरेँ ।  बल गरेँ । सास रोकेँ ।

आँखा चिम्म गरेँ । गरिरहेँ । कतिवेला भुसुक्क निदाएँछु ।

म बिउझँदा मध्यरात भएको रहेछ । एकदम भोक लागिरहेको छ । तिर्खा पनि उस्तै । कति व्याकुल म ! यति तिर्खा, तृष्णा कहिल्यै थिएन मलाई । कस्तो छट्पटी !

'पानी पिऊ !'

यति मध्यराति कोहो मलाई पानी पिलाउन चाहने ! मनमा यस्तै किसिमको सवालले डेरा जमाइहाल्यो ।

तर, सवाल राख्ने समय नै कहाँ र ! चुपो लागेर बिर्को खोलिएको पानीको बोतल लिएँ । घटघट पिएँ । एक लिटर पानी दिउँसोको झरना जसरी छङछङ गर्दै घाँटीभित्र हामफाल्यो ।

'तपाईंको नाम ?' बल्लतल्ल बोल्ने तागत आएपछि परिचयको श्रृङखला सुरु गरेँ ।

'सम्बन्ध ।'

'म चाहिँ...' मैले आफ्नो नाम बताउन के खोजेको थिएँ, उसले कुरा काटिदियो, 'अँ म तिमीलाई राम्रोसँग चिन्छु ।'

'ओहो ! कहाँ चिन्नुभको ?'

'हाम्रो संगत धेरै पुरानो हो । तर, तिमीले मलाई कहिल्यै मतलव गरेनौं ।'  उसको उदास, दु:खी आवाज आयो । गुनासोको कत्रो ठूलो महाभारतसहितको आवाज । यति धेरै गुनासो सहितको आवाज पहिलोपटक सुन्दैछु म ।

'मैले नान रोटी ल्याइदिएको छु । राजमाको दाल पनि छ । खाउ ।' फेरि ऊ आफैं बोल्यो । म वाल्ल परेँ । अँध्यारोमा उसको अनुहार स्पष्ट छैन । नत्र चिन्थेँ पनि होला ।

'खाऊ न ।बढी नसोच ।' ऊ नै बोल्यो ।

म बिस्तारै रोटी टिपेर खान थालेँ । ऊ बोल्न थाल्यो -

'तिमीले मलाई कहिल्यै चिनेनौं । महसुस गरेनौं ।  म तिम्रो जन्मदेखि नै तिम्रो साथमा छु । तिमी सानै हुँदा लाग्थ्यो, अहिले मतलव नगरे पनि बुझ्ने भएपछि मलाई मतलव गर्नेछौ । र नै तिम्रा ठूलाठूला गल्तीहरूलाई पनि मैले माफी दिएँ ।

तिमी बिस्तारै हुर्कँदै गयौ ।

म तिम्रै साथमा थिएँ । तिम्रो हरेक कदम म नभए अर्थपूर्ण हुँदैन थियो । तर, जब तिमीले घरमा झगडा गर्यौ, आमा बालाई रुवायौ, त्यस दिन सबैभन्दा ज्यादा दुखेको थिएँ ।

तिमीले वर्षौं लामो प्रेमलाई कुल्चँदा सबैभन्दा ज्यादा चीत्कार मैले नै निकालेको थिएँ । तर, तिमीले मतलवै गरेनौं । तिमीलाई आफ्नै रुवाइ, जिद्दीपना सही लाग्यो । आफ्नै निर्णय सही लाग्यो ।

त्यसपछि सहर पस्यौ ।

म तिमीलाई एक्लै छाडिदिउँ कि लागेको थियो, तर सकिनँ । तिमी जस्तो भए पनि मैले स्वीकारेँ । तिमीविना मेरो कुनै अर्थ नै थिएन । म हुनुको औचित्य तिमीमा थियो ।

सहर छिरेपछि तिमी धेरै मानिससँग जोडियौ । हरेक मानिससँग जोडिनुमा मेरो भूमिका थियो । केही मानिससँग तिमीलाई जोडेकोमा अहिले पछुतो पनि छ मलाई । ती मानिस धोकेवाज थिए, दलाली, घुसखोरी थिए । तिमी पनि त्यस्तै बन्यौ । यसमा मलाई मेरो आफ्नै कदमप्रति पछुतो छ ।'

सम्बन्धको कुराले हैरान भएँ । छक्क परेँ । यतिन्जेल नान रोटी खाइसकेको थिएँ । मलाई केही बोल्न मन लागेन । मन भारी भएर आयो । कुनै जवाफ फर्काउन सकिनँ । कहिलेकाही उत्तरहरू यसरी पनि गायब भइदिँदा रहेछन् ।

उठेँ । चुपचाप केही नबोली  सरासर हिँडेँ ।

अलि पर पुगेको थिएँ । अचानक 'सम्बन्ध'को याद आयो । अरे, सम्बन्ध खोइ ? पछाडि फर्केर हेरेँ ।

'म यहीँ छु । तिमीसँगै छु । ढुक्कले यात्रा गर, तिमी जहाँ जहाँ पुग्छौ, त्यहीँ त्यहीँ म हुनेछु ।' सम्बन्धको आवाज कानमा ठोक्कियो । यताउता घुमेर हेरेँ । तर, कतै देखिनँ ।
 'म तिमीसँगै छु के' फेरि आवाज आयो ।

म सरासर हिँडेँ ।

लगभग बिहानको तीन बजेको हुनुपर्छ । जुनेली रात । चारैतिर धेरैपरसम्म कोदोबारी छ । जुनेली रातमा कोदो झुलिरहेको प्रष्टै देखिन्छ । ओहो ! म त शरदीय याममा पो आइपुगेँछु ।

यो याम त दशैंको याम हो । तिहारको याम हो । बाआमाको आशीर्वाद लिने याम हो । चेलीबाट भाइटीका लिने याम हो । तर, मेरा बाआमा ? मेरा चेली ? मलाई अचानक घरको याद आयो । म त कहाँ हो कहाँ एकलासमा रहेछु । मन भारी भएर आयो । घरको सम्झनाले बेस्सरी पिरोल्यो । ख्वाक्क खोकेँ । चुरोट सल्काएँ । लुखुरलुखुर हिँडिरहेँ ।

केही पर पुगेको थिएँ, पछिपछि कोही आइरहेजस्तो लाग्यो । चप्पल पड्किएको आवाज आइरहेको छ । टक्क रोकिएर पछाडि हेरेँ । चप्पलको आवाज रोकियो । पछाडि कोही देखिनँ । फेरि हिँड्न थालेँ ।

पछिपछि चप्पलले आफ्नो  आवाज मेरो हिँडाइसँग मिलाइरहेको छ ।

'कोहो हँ ?' रिससहितको आवाज निकालेँ ।

'म...' निन्याउरो आवाज आयो ।

'को हो ?' झर्किएर बोलेँ ।

'म, सधैं सधैं तिम्रो अवहेलनामा बाँचेको जिम्मेवारी हुँ ।'

'जिम्मेवारी ?'

'अँ । तिम्रो बेवकुफी र बेवास्ताले पिल्सिएको जिम्मेवारी ।'

म छक्क परेँ । के नाम हो यो ? कस्तो नाम हो ? जिम्मेवारी रे !

जिम्मेवारी बोल्न थाल्यो-

'सधैं सधैं तिम्रो अवहेलनामा बाँचिरहेछु । तिमी मतलवी छौ । आफ्नै रहर, चाहनालाई सधैं प्राथमिकतामा राख्छौ । मलाई कहिल्यै मतलव गर्दैनौं ।

हेर न यो शरदीय याम । यो वेला तिमी बाआमाको आशीर्वाद लिइरहेको भए, घरमा दशै खर्च बोकेर पुगेको भए ! तिम्री बहिनीको बिहे भएको छैन । विवाह गर्ने खर्च घरमा छैन । तिमी घरको फोन पनि उठाउँदैनौं । तिम्री प्रेमिका प्रेगनेन्ट छे । उसलाई फेसबुक, ट्वीटर, इन्स्टाग्राममा ब्लक हानेको छौ । भन त, अब उसँग आत्नहत्या बाहेक अरू विकल्प छ ?

तिम्रा यस्ता कदमले सधैं सधैं मलाई दुखी बनाइरहन्छ । न म केही गर्न सक्छु, न केही भन्न । सधैं तिम्रो दिमाग सक्रिय रहन्छ । म दिमागलाई कहिल्यै जित्न सक्दिनँ । म त मनमा बसिरहेको हुन्छु ।  तर, तिमी मनलाई मतलवै गर्दैनौं । सस्तो भावुकताले अगाडि बढ्न दिँदैन भन्छौ ।

अनि म सधैं सधैं रोएर बस्नुपर्छ ।'

जिम्मेवारीको कुराले मनमा आँधी ल्यायो । थचक्क बसेँ । च्यापुमा हात राखेँ । मलाई एकदमै रुन मन लाग्यो । चिच्याइ  चिच्याइ रुन मन लाग्यो । तर, आँसु नै आएन । आँसु आउनलाई पनि मन पग्लनुपर्ने रहेछ । मैले त वर्षौंदेखि मनलाई वरफ बनाएर राखेँ ।

बिस्तारै उठेँ । एक रत्ति तागत छैन । जीउ लत्रक्क गलेको छ । बिस्तारै हिँड्ने कोसिस गरेँ ।

लुखुर लुखुर हिँडिरहेँ ।

अलि पर । हिउँ परिरहेको छ । धुपी सल्लाहरू हिउँले घेरिएका छन् । बाटोभरि घुँडासम्म आइपुग्ने हिउँ छ । औंलाहरू चिसोले कटकट खाइरहेको छ । शिशिरको याम रहेछ । बलजफ्ती हिँडिरहेको छु । अब त उज्यालो हुने वेला पनि भयो । मिर्मिरे छ । लगभग आधा उज्यालो छ । निक्कै पर घोडामा कोही म गएतिरै गइरहेछ । घोडा हिँडिरहेछ । रथजस्तोमा एक युवती मविपरीत बसेकी छे । उसको छेवैमा आगो बलिरहेको छ । ऊ आगो तापिरहेकी छे ।

आगो देखेपछि मलाई झन् जाडो भयो । हतारहतार युवती भएतिर पाइला बढाएँ । अलि नजिक पुगेँ । घोडा हिँडिरहेको छ । लगभग हामीबीच ५० मिटरको दुरी छ ।

अब भने घोडा छिटोछिटो हिँड्न थाल्यो । म जति छिटो पाइला चाल्छु, उति नै छिटो घोडा हिँड्छ । निक्कै परसम्म पछ्याएँ, तर ५० मिटरभन्दा दुरी घटेन । थाकेँ । उभिएँ । खुइया गरेँ । अरे ! घोडा पनि उभियो  त । फेरि हिँडेँ । घोडा पनि हिँड्न थाल्यो । दुरी घट्नै दिइरहेको छैन घोडाले । यो के यातना हो !

'हेल्लो ! पर्ख न मलाई पनि । जाडोले मर्न लागेँ ।' मैले बोलिपठाएँ ।

उताबाट केही जवाफ आएन । मैले फेरि अनुरोध गरेँ । अँह, जवाफ आएन । धेरै पटक बोलाइसकेँ, जवाफ आएन ।

'को हो तिमी ? मलाई किन यसरी सताइरहेको छौ ?' दु:खी भएर भनेँ ।

'तिमीले वर्षौंदेखि मलाई नै खोजिरहेको छौ ।' बल्ल जवाफ आयो । तर, मैले वर्षौंदेखि यो युवतीलाई किन खोज्ने ? कोहो र यो ? न कहिले देखेको, न बोलेको ।

'म तिमीलाई किन खोजुँ ? को हौ त तिमी ?' आवेगमा आएर भनेँ ।

बल्ल जवाफ आयो, 'म खुसी हुँ । तिमी वर्षौंदेखि मलाई  नै खोजेर भौतारिरहेको छौ ।'

ओहो ! खुसी !! 'ए एकछिन पर्ख न ।' मैले भनिपठाएँ । तर, जवाफ फेरि आएन । म जति छिटो पाइला चाल्यो, घोडा उति छिटो हिँडिरहेको छ । गलेर लखतरान भएँ । निक्कै पर पुगिसकेँछु । घाम पनि झुल्किसकेछ । 'खुसी'ले मतिर अनुहार फर्काइन् । ओहो ! कति सुन्दर र मासुम चेहरा ! कति मीठो र मायालु चेहरा ।

'पर्ख न !' मैले भनेँ ।  खुसी मुसुक्क हाँस्यो तर, उसैगरी हिँडिरह्यो ।

यति नै वेला मेरो जहाजको साइरन बज्यो । मेरो समय सकिएछ । एयरपोर्टभन्दा अलि वर आइसकेँछु ।लगभग एक चक्कर लगाइसकेँछु । कति चाँडै २४ घण्टा बितिसकेछ । मैले ढिला गरेँ भने हजाज चल्दैन । धेरै समय कुर्नुपर्छ ।

खुसीलाई हेरेँ । ऊ उभिइरहेकी छे । घोडा हिँडेको छैन । एउटा पाइला चालेँ, घोडा नि एक पाइला अगाडि बढ्यो । फेरि चालेँ, घोडा फेरि अघि बढ्यो ।

मलाई खुसीसँग रिस उठ्यो, चित्त नि दुख्यो । चुपो लागेर सरक्क फर्किएँ ।एयरपोर्टमा जहाज ढिला भयो भनेर कराइरहेको छ । हतार हतार एयरपोर्टभित्र छिरेँ । खुसी मतिरै आइरहेको रहेछ । तर, दुरी पचास मिटर टाढै छ ।

उभिएर हेरिरहेँ । खुसीले पनि हेरिरहेछ । आगो तापिरहेछ । जहाजले अचानक लास्ट वार्निङ साइरन बजायो । हतारहतार जहाजभित्र छिरेँ । जहाज स्टार्ट गरेँ । र जहाज उडाएँ । मन भारि भइरहेछ । सबै सबै कुरा छाड्नुपर्यो । आँखा भरिएर आएको छ  । नाकको पोरा फुलेको छ ।

२४ घण्टामा जतिजनासँग संगत गरेँ, ती सबै औधी प्रिय थिए । कसैको मप्रति गुनासो रह्यो, कसैसँग मेरो गुनासो रह्यो । गुनासाहरूको कथा न रहेछ जिन्दगी ।

०००

म आफूभित्रबाट बाहिर निस्किएँ । ओहो, कति रहस्यमय संसार मभित्रको !!

सुनसान छ । रातको ११ बजिसकेछ । सबै सुतिसकेछन् । चुइक्क आवाज केहीको छैन ।

म यति धेरै रहस्य बोकेर बाँच्छु । मभित्र यति ठूलो संसार छ, जसलाई छिचोल्नै सक्दिनँ । तर, सधैं अरूबारे धारणा बनाइबस्छु ।, मप्रतिको मेरो आफ्नै धारणा चाहिँ के हो ?

उत्तर केही पाउँदिनँ । एक प्याला लिन्छु । सिग्रेट सल्काउँछु । लामो पफ सुरुरु फाल्छु । मेरा लागि संसारको सबैभन्दा ठूलो रहस्य म नै हुँ ।

००

'मान्छे रहस्य हो ?' आफैंलाई प्रश्न सोधिपठाउँछु ।
'होइन ! महा रहस्य हो ।' मनले मलाई भनिपठाउँछ ।

हामी  अरूलाई बुझ्ने/अर्थ्याउने दौडमा जिन्दगी खेर फाल्छौं । 'त्यो मान्छे यस्तो/उस्तो, उसको काम सही/गलत, ऊ महान्/बेवकुफ ।' मानिसको जिन्दगीभरको सर्वसत्य खोजी यही चक्रमा रुमल्लिन्छ ।

यो महामूर्ख चक्रभन्दा अलि परै रहेेे रआफूलाई परिभाषित गर्दा  कसैगरी पनि आफैंलाई आफैप्रतिको परिभाषा सही लाग्दैन । ठीक लाग्दै लाग्दैन । चित्तै बुझ्दैन । आफैंले आफूलाई त जसरी अर्थ्याए पनि चित्त बुझ्दैन । बरू अरूले आफूमाथि बनाएका भ्रामक धारणाहरूले खुसी दिन्छ । थाहा छ ती भ्रम हुन् । र पनि खुसी मिल्छ । आत्मरति पनि कत्ति हो !
०००









Comments

  1. समय सान्दर्भिक लाग्यो ! लेख्दै जानुहोस , तपाई हाम्लाई चाहिने मान्छे हो ।

    ReplyDelete
  2. सफर। पढियो ।

    ReplyDelete
  3. बहुत सुन्दर लेख्नु हुन्छ तपाईं। शब्दहरु?होईन, तपाईं मानबिय संंबेगहरु लेख्नु हुन्छ। हृदयले टपक्क- टपक्क टिपेर उनिएका हुन्छन् शब्दहरु। शब्दहरुलाई यति साधन सहित प्रेम गर्ने मानिसलाई शब्द प्रेमी जो कोहिले नप्रेम गरीरहनै सक्दैन। एउटा अति मनपरेको प्रीय लेखकको लेख हो यो। लेख्ने औंला हरुलाइ लेखिरहने सुभकामना। 😊

    ReplyDelete
  4. OMG उपन्यासको ताका बनोस।

    ReplyDelete
  5. राइटरअले stated soliloqui लाई ब्युटिफुलली जीबन दिएको सुन्दर लाग्यो! फ्लाश्ब्याक ले थोरै मन लुछ्यो| र सहमत् पनि राखें ”अरूले आफूमाथि बनाएका भ्रामक धारणाहरूले खुसी दिन्छ । थाहा छ ती भ्रम हुन्”😍

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तिमीसँग भेट नभएको भए

मोहिनी