हत्या वा आत्महत्या !


० नवीन प्यासी


०००
'मलाई बाँच्न देऊ प्लिज ।'

लास थियो । लास बोल्यो । ऊ चकित पर्न बाहेक अर्थोक के गर्न सक्छ !

पैयुँ फुलिरहेको छ । जताततै पैँयु मात्र छन् । जापानिज नाम सापटी लिँदा चेरी ब्लुजम भनौं । तर, पैयुँ र चेरी ब्लुजमबीचको जैवीक निकटताबारे अनभीज्ञ छ ऊ । जान्न आवश्यक पनि छैन । कसैले उसलाई जान्नु भनेको पनि छैन ।

बरू पैयुँले भनिरहेछ, 'तेरो आँखाको क्षेत्रफल कति हो ए युवक !' यति धेरै पैयुँ फुलेको ठाउँमा ऊ पहिलोपटक आइपुगेको छ । कति हेर्न सक्छ, उतिसम्म पैयुँहरू छन् । धेरै पर आँखाले भ्याएसम्म ।

वसन्त मस्त वैंशमा छ भनिरहेछन् पैयुँहरू । यो वेला रोमान्टिक हुनुपर्ने हो । उसको साथमा प्रेमिका हुनुपर्ने । प्रेमिकाले पैयुँहरूलाई नेपथ्यमा राखेर सेल्फी लिइरहेको हुनुपर्ने । पैयुँका पातहरू प्रेमिका हिँड्दा छप छप बजिरहेको हुनुपर्ने ।

भँगेराहरू पैयुँका फूल र हाँगाहरूमा चिरबिर चिरबिर गरिरहेका छन् ।
तर, प्रेमिका १५ मिटर परबाट घिस्रिएर आएकी छिन् । उनको घिस्राइले पातहरू सोहरिर बाटो बनेको छ । प्रेमिकाको घाँटीमा टाइ छ, त्यो पनि बलियो गरि कसिएको । लुगाको नाममा त्यही टाइ हो । बाँकी लुगाहरू १५ मिटर परै छ ।

प्रेमिकाको ओंठ चिराचिरा चिरिएको छ । दुवै आँखाका नानी छैनन् । हात बाँधिएको छ । दुवै स्तन काटिएका छन् । पेटमा बुटका डामहरू छन् । पैतालाको छाला ब्लेडले चिरिएको छ । कपाल चक्कुले जताततै काटिएको छ ।

उनको पातलो पेट घरिघरि तलमाथि गरिरहेछ । सायद, सास फेरिरहेकी छे ।

ऊ छेउैमा गैँती चलाइरहेको छ । सावेलले माटो नि फालिरहेको छ । निधारबाट पसिनाका ढिका लडिरहेका छन् । ऊ दाहिने हातले निधारका पसिनाका थोपाहरू सोहोर्छ र गैँती-सावेल चलाउन सुरु गरिहाल्छ ।

उसको पनि घाँटीभरि दागैदाग छन् । चोटहरू छन् । सेतो टिसर्टमा रगतका छिटाहरू औंसीको छेकोमा आकाशमा देखिएका ताराहरू जस्ता छन् । धिपधिप बलिरहेजस्ता ।

उसले कम्मर डुब्ने गहिरो खन्यो ।

खाल्डोबाट निस्कियो । १५ मिटर पर गयो । सानो, खरायोको कान भएको लेडिज ब्याग खोल्यो । चकलेट निकाल्यो । खान थाल्यो । भूइँमा लेयजको पोको छ । हावाले डम्म भरिएको । त्यहीँ एक लात बजार्यो । लेयजको पोका ड्याम्म पड्कियो ।

चकलेट खाँदै ऊ प्रेमिकाको लास छेउमा आयो ।

फेरि १५ मिटर परै गयो । प्रेमिकाको पर्पल ज्याकेट, ह्वाइट टिसर्ट, ह्वाइट पाइन्ट, पर्पल सुज र सानो ब्याग लिएर फिर्यो । सबै सामानलाई खाल्डोमा हाल्यो । अलि पर्तिर मिल्किएको आँखाका दुई नानी, दुई स्तन, कपाल  र दुई पैतालाका छाला पनि खाल्डोमा हाल्यो ।  ब्लेड, चक्कु, भूइँमा छरिएका रगत पनि खाल्डोमा हाल्यो ।

एकछिन गमीबस्यो ।

प्रेमिकालाई उठायो । खाल्डोतिर घिसार्न थाल्यो । प्रेमिका फेरि बोली- 'मलाई बाँच्न देऊ लिज !'

ऊ एकछिन रोकियो । प्रेमिकाको निधारमा किस गर्यो । र खाल्डोमा खसाल्यो ।

माथिबाट माटोले पुर्यो । माटोले पुरिसकेपछि पैयुँका सुकेका पातहरू सोहरेर माटोमाथि थुपार्यो ।

लगभग सबै प्रमाण मेटियो ।

लामो सास फेरेर खुइय गर्यो । उठ्यो । पैयुँहरूलाई नियालेर धीत मरुन्जेल हेर्यो । वर्षौंको तृष्णा भएजसरी हेर्यो । र पैयुँको हाँगामा डोरी लगाएर ऊ आफू पनि झुण्डियो । उसको झुण्डाइले थर्किएर पैयुँका फूलहरू बुरुरु भूइँमा खसे । चिरबिर चिरबिर गरिरहेका भँगेराहरू भुरुरु उड्दै नमीठो आवाजमा कराए ।

भँगेराहरूको नमीठो आवाज र अचनक गड्याङगुरडुङ गरेर चर्केको आवाजले मस्त निदाइरहेको म झल्याँस्स बिउँझिएँ !  म त सपनामा पो रहेछु । सपनामा यी सबै दृश्य हेरिरहेको रहेछु ।

रातको १२ बजिसकेको रहेछ । झरी परिरहेको छ । टिनमा ठोक्किएका झरीका आवाज कस्तो नमीठो ! मेरो कोठाको झ्यालैमा भँगेराले गुँड लगाएको थियो । त्यस्तै तीनचार दिन भएको हुनुपर्छ, बचेरा पड्काएका थिए । यति राति भँगेरा कराइरहेछ ।

बत्ती बालेँ । भँगेरा कराउन छाड्यो । भँगेराको गुँड हेर्न मन लाग्यो । गुँड हेरेेँ । ओहो, बचेराहरू त सबै न्याउरी मुसाले खाएछ । एउटा भँगेरालाई तल भूइँमा खसालेर न्याउरी मुसाले लुछिरहेको रहेछ । सायद, अघि कराउने भँगेरा त्यही थियो होला । मैले बत्ती बाल्नु र उसको सास जानू संयोग थियो होला ।

Comments

Post a Comment

Popular posts from this blog

सफर

तिमीसँग भेट नभएको भए

मोहिनी